त्यस्तै व्यक्तिहरूको खोजीमा म हालसालै कास्की जिल्लाको रुपातालको छेउछाउमा पुगेको थिएँ। वर्षाको तिरमिराउने हरियाली, ढपक्क ढाकिएका मखमल जस्ता पहाड र जताततै छहरा, कुलो र खोलाबाट खस्ने पानीको आवाजका बीच।
बिहान ६:३० बजे रुपातालको पारिपट्टि तालबेसीतिरबाट चार वटा डुङ्गा देखा परे। ऐना जस्तो ताललाई डुङ्गाका छालले खलबल्यायो। किनारमा रुपाताल पुनर्स्थापना तथा मत्स्यपालन केन्द्रका कर्मचारीले तराजु र क्याल्कुलेटर तयार पारे। माछा किन्न पोखरा र लेखनाथदेखि आएकाहरू पैसा ठिक्क पार्न थाले। डुङ्गाहरू किनारा लागेपछि धमाधम सेता–सेता टल्किने माछाहरू भित्र्याइए र तौलिँदै बेचिए। ४५ मिनेटमा रु.१० हजारको माछा बिक्री भयो। गत वर्ष मात्र माछा बेचेर रुपा सहकारीले रु.६५ लाख कमायो। माछा पाल्ने एनक्लोजर बनाउन, मर्मत गर्न, भुराहरू किन्न र तालको प्राकृतिक संरक्षण गर्न खर्च भयो। अरू आठ लाख रूखहरू जोगाएर भूक्षय रोकेबापत रुपातालको जलाधारमा पर्ने १७ वटा सामुदायिक वन समूहलाई वितरण गर्यो। सहकारीले जलाधारका १९ गाविसका स्कूलहरूलाई अनुदान र विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण पनि गर्छ।
सहकारीका संस्थापक अध्यक्ष लेखनाथ ढकालका अनुसार यस प्रकारको संरचनाले रुपातालको दिगो विकासमा मद्दत पुर्याएको छ। उनी भन्छन्, “आर्थिक विकासको लागि प्रकृति विनास गर्नु पर्दोरहेनछ भन्ने कुरा हामीले देखायौं। अझ् सहकारीको विकाससँगसँगै संरक्षणको लागि लगानी गर्ने क्षमताको पनि वृद्धि भएको छ।”
रुपातालको ठीक डिलमा पर्ने चौरगाउँको प्रतिज्ञा बचत तथा ऋण सहकारीले सदस्य किसानहरूको समृद्धिको लागि नयाँ धानको विकास, विभिन्न जातका स्थानीय तरकारी, फलफूल र जडिबुटीको संरक्षण गरेको छ। सहकारीकी सीता खड्का भन्छिन्, “हामीलाई अब दाताहरू चाहिँदैन, हामी गाउँमै कृषिजन्य रोजगार सिर्जना गरेर युवाहरूको पलायन रोक्न चाहन्छौं।”
चौरगाउँकै जयबहादुर थापा आफ्नो पुर्ख्यौली वैद्य पेशालाई निरन्तरता दिँदै १५० प्रजातिका जडिबुटी उमारेर बेच्दैछन्, आफ्नै बगैंचाबाट। जयबहादुरकी छिमेकी मैना थापा बेसीको धानखेत गोडेर डोको बोक्दै उकालो चढ्दैछिन्। उनी आफूले फलाएको अनदी चामलको आफैं बजार विस्तारमा लागेकी छिन्। मैनाका छोरा राहुल आमालाई मद्दत गर्छन् र वर्षभरिको कमाइले गर्दा कामको खोजीमा शहरतिर र्झ्नु परेको छैन भन्छन्।
अझ् माथि वेगनासपट्टिको डाँडामा सूर्य अधिकारी आफ्नो नमुना अर्गानिक फार्ममा व्यस्त छन्। एकपटक गुल्मीबाट ल्याएको १२ बोट कफी वेगनासको हावापानीमा फस्टाएपछि अहिले वेगनासको कफी संसारभरि प्रसिद्ध छ र वरिपरिका गाउँहरूबाट समेत २२ टन कफी उत्पादन हुन्छ। अधिकारी भन्छन्, “मैले बुझेको के भने प्रकृतिका नियमहरू तोड्नु हुँदोरहेनछ र सबैभन्दा माटोलाई जोगाउनु पर्दोरहेछ। माटोलाई विषालु रसायनबाट बचाउनुपर्छ र उर्वर राख्नुपर्छ।” उनका अनुसार जैविक र कृषिको विविधतामा संसारकै सबैभन्दा धनी इलाका हो, कास्की। अनेकथरी वनस्पतिबाहेक यहाँ १६ खालका धान, १२ किसिमको कोदो, १२ किसिमका तरुल, दर्जनौंखाले कर्कलो र अरू तरकारी छन्। “हामीलाई प्रकृतिले सुम्पेको हो यो, यसलाई जोगाउनु हाम्रो कर्तव्य हो। लोप भए भने कहिल्यै फर्केर आउँदैनन्”, अधिकारी भन्छन्। उनी कास्कीका कृषकका लागि वेगनास र रुपाका जलाधार क्षेत्रलाई कृषि संरक्षण इलाका घोषणा गर्नुपर्ने बताउँछन्, जस्तै हामी वन्यजन्तुका लागि राष्ट्रिय निकुञ्ज वा वन्यजन्तु आरक्ष संरक्षण गर्छौं। सूर्य अधिकारी आफूलाई हौसला र ज्ञान दिने पोखराको गैसस ‘लिवर्ड’ लाई जस दिन्छन्।
काठमाडौंको प्रदूषित हावापानी, विषालु राजनीति र असंवेदनशील समाजमा उब्जने नैराश्यताबाट भाग्न कास्की जाँदा र किसानहरूसँग कुराकानी गर्दा मेरो मन ‘रिचार्ज’ भए जस्तो लाग्यो।
केले गर्दा रुपा र वेगनासवासीहरूमा यत्रो जाँगर, जोश र भविष्यप्रति आशा जागेको होला? नेपालका शहरमा नेताहरूलाई खोक्रो भाषण मात्र दिन आउँछ। उनीहरूका कार्यकर्ता नारा जुलुसबाहेक केही गर्दैनन्। तर यहाँ सूर्य, मैना, राहुल, जयबहादुर, सीता, लेखनाथहरू हात खियाएर, माटो जोगाएर, प्रकृतिको संरक्षण गरेर आफ्नो र समुदायको उन्नति गरिरहेका छन्।
Earning from nature to pay for its upkeep#565
Go back to previous page









In the caption describing the chairpersons in the top right picture, it should be:
Founder chairperson: Lekhnath Dhakal
Chairperson (current): Ramchandra Sapkota
Keshab Thapa